काठमाडौं: सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट तीन जिल्लामा चार जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्। सर्लाही, धनुषा र मकवानपुरमा गरी चार जनाको ज्यान गएको हो।
सर्लाहीस्थित बागमती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो। कमला नदीमा आएको बाढीमा दाउरा टिप्न गएका श्रीमान्–श्रीमती अझै बेपत्ता छन्। बागमती नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ।
मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ।
यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ। सोमबार राति घरपरिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको थियो ।
धनुषाको बसही खोलाको बाढीले मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ। उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। कमला नदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका छन्।
मुसलधारे वर्षासँगै खसेको पहिरोले मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने परिवारका ५ जना बेपत्ता छन्। पाहुना आएका एक जना घाइते भएका छन्।
मंगलबार बिहान ४ बजेतिर सिक्रे दोभानका अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा घाइते भएकी ५५ वर्षीया शान्तिमायाको उपचारका क्रममा मृत्यु भएको हो। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षीया शिला, छोरा २५ वर्षीय जीवन, नाति ४ वर्षीय मिलन र डेढ वर्षीया नातिनी दिव्या बेपत्ता छन्।
सोही पहिरोमा पुरिएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन्। मंगलबार बिहान ४ बजेतिर एक्कासि खसेको पहिरोले अक्कलबहादुरको घर बगाउँदा घरका सातै जना बेपत्ता भएका थिए। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।