कैलाली जिल्ला सुरक्षा समिति कैलालीले कैलालीको चुरे क्षेत्रका मतदान स्थलको अनुगमन निरीक्षण गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदान स्थलको अनुगमन निरीक्षण गर्नेक्रममा प्र्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले बुधबार चुरे गाउँपालिकामा रहेका विभिन्न मतदान स्थलको अनुमगन गरेको हो ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले चुरेका सहजपुर, निगालीको अलाड, खानीडाँडालगायतका मतदानस्थलको अनुगमन गरिएको बताए ।
मतदान स्थलमा सुरक्षा संवेदनशिलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र पतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन गरेको उनले बताए । कुन मतदान स्थलमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा जिल्लाका विभिन्न स्थानमा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनका अनुसार चुरेका सबै मतदान स्थल विद्यालयमा तोकिएका छन् ।
जिल्ला सुरक्षा समितिले मतदान स्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । उनले प्रायः एउटा मतदान स्थलमा दुईवटा मतदान केन्द्र राखिएको जानकारी दिए ।
साथै सुरक्षा समितिले चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकेको छ । सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताए । उनले टोलीले त्यहाँको अवस्थाबारे पनि जानकारी लिएको बताए । उनका अनुसार यसभन्दा अघिल्लो चुनावमा चुरे गाउँपालिकाको मतगणना निगालीको अलाडमा गरिएको थियो ।
निर्वाचन मतदान स्थल अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारीसहित निर्वाचन अधिकारी भट्ट, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी, सशस्त्र प्रहरी बल धनगढी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धनबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कैलालीका प्रमुख रमेश डाँगालगायत सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्ला सुरक्षा समितिले आगामी चुनावका लागि जिल्लाभर तोकिएका मतदान स्थलहरुको अनुगमन गरिरहेको छ । समितिले यसअघि कैलालीको मोहन्याल गाउँपालिकाका मतदान स्थलको अनुगमन गरेको थियो । निर्वाचन अधिकारी भट्टका अनुसार ५ लाख २५ हजार १ सय २५ जना मतदाता संख्या रहेको कैलालीमा २ सय ३६ मतदान स्थल र ६ सय १९ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा अतिसंवेदनशिलमा ५२, संवेदनशिल ५३ र १ सय ३१ सामान्य मतदान स्थलमा बर्गिकरण गरिएको छ ।