बैतडी: बैतडीको एक विद्यालयमा हावाहुरीले उडाएको छानो मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा र भवन अभावले पठनपाठनमा समस्या भएको हो।
विद्यालय भवनको छानो उडाएको ३ वर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन। कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए। ‘जीर्ण भवनबाट विद्यालयले सेवा दिइरहेको छ तर विद्यार्थीको ज्यान जोखिममा छ’ उनले भने।
४ कोठाको भवनमध्ये एकमा विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन्। विद्यालय भवन मर्मत नहुँदा २ सय बालबालिकालाई पठनपाठनका लागि निकै समस्या भएको छ।
यो विषयमा गाउँपालिकाको समेत ध्यानाकर्षण गराएको भएपनि भवन मर्मत हुन नसकेको बोहराले बताए। स्थानीय, प्रदेश र संघ सरकारलाई भवनका लागि माग गरिएको भएपनि भवन निमार्णमा कुनै निकायले चासो नदिएको वडाअध्यक्ष कर्णबहादुर साउँदले बताए।