कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मेयर ११ नम्बर वडास्थित कलुवापुर बजारको ढल व्यवस्थापनको लागि डोजरसहित सडकमा पुगेका छन् । नगरप्रमुख रणबहादुर महरा नेतृत्वको टोली बिहीवार डोजरसहित उक्त क्षेत्रमा पुगेको थियो ।
उनी नेतृत्वको टोलीले ढल व्यवस्थापनको सुरुवात गरेको हो । नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माण गरेपनि नाली नबनाउँदा कलुवापुर बजार डुबानमा पर्दै आएको थियो ।
गत आइतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरोकारवालासँग ढल व्यवस्थापनबारे छलफल भएको थियो । सडक डिभिजन कार्यालयले सीमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने, विद्युत कार्यालयले पोलहरु हटाउने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय गरिएको थियो ।
सडक र पूर्वाधार विकास कार्यालयले चासो नदेखाएपछि तत्कालको समस्या समाधानका लागि नगरपालिकाले अस्थायी नाली निर्माण गरिरहेको छ । दिर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्नेछ ।