काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढीपहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।