अछामः अछामको पञ्चदेव विनायकका विनोद शाहीका हत्या आरोपी सर्जनबहादुर शाही धरौटीमा रिहा भएपछि स्थानीय आन्दोलित भएका छन् । उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
जिल्ला अदालतले शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको फैसलाविरुद्ध उनीहरुले विनायक बजारमा टायर जलाएर विरोध प्रदर्शन गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरुले सडक अवरुद्ध पार्न बाटोमा ढुंगा राखेका भएपनि ती ढुंगा हटाइसकिएको प्रहरीले बताएको छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पनि ऐक्यबद्धता जनाएको छ ।
विनोद शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनको हत्या भएको भन्दै नगरप्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।