धनगढी: नेपाली सेनाका एक दर्जनभन्दा बढी सिपाही लापता भएको पाइएको छ। करिब एक महिनाको पिरियडमा एक दर्जन बढी सिपाही कर्मचारीहरु गायब भएका हुन्।
स्रोतका अनुसार उनीहरु कोही भागेर त कोही बिदा मागेर सम्पर्कविहीन भएका हुन्। यसरी सम्पर्कविहीन हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका–४, तिरतिरेका भीमबहादुर बस्नेतका नाति एवं डिल्लीबहादुरका छोरा सुजन बस्नेत रहेका छन्। उनी आफ्नो घरमा समस्या भएको भन्दै असार २२ गतेदेखि छुट्टी गएकामा थिए।
ब्याच नम्बर ३०७८८१ भएका उनी असार २९ गते हाजिर हुनुपर्ने थियो। त्यस्तै, संखुवासभाको सिलिङचोङ नगरपालिका–९, सिसुवाखोला घर भएका सिपाही दीपक कुलुङ पनि लापत्ता छन्। असार ४ गतेबाट ३० दिन छुट्टीमा बसेका उनी साउन २ गते कार्यालयमा उपस्थित हुनुपर्ने थियो। जितराम राईका नाति एवं जिमीराम राईका छोरा उनलाई बारम्बार फोन गर्दासमेत सम्पर्क हुन नसकेको बुझिएको छ।
सिपाही प्रदीप सेढाईं कसैलाई जानकारी नगराई भागेका छन्। बर्दियाको सितला बस्ने देवीदत्तका नाति तथा लक्ष्मणराज सेढाईंका छोरा उनी हेटौंडानजिक सुनाचरी इमल्सन प्लान्टमा काज खटिएका थिए। वृत्ति विकासको तालिमका लागि छनोट भएका उनी साउन ३ गते भागेका हुन्। एक दिन घर बिदामा छोडिएका सिपाही राजेन्द्र परियारको पनि अत्तोपत्तो छैन। पर्साको ठोरी गाउँपालिका–२ का समशेर दमैको नाति एवं धनबहादुर परियारको छोरा उनी साउन ७ गते हाजिर हुने शर्तमा निस्किएका थिए। यता, बर्दियाको ठाकुरबाबा नगरपालिका–२, घर भएका सिपाही नवीनकुमार कँडेल १७ दिन छुट्टी लिएर असार १९ गते ब्यारेकबाट बाहिरिएकोमा हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीमा रिपोर्ट परेको छ।
श्री इन्द्रबक्स गणमा सञ्चालित ‘सि .स. १७ बिल्लादार ग्रेड–तीन’ तालिममा संलग्न विशाल तामाङ पेरिमिटर नाघेर साउन ७ गते बिहान भागेका छन्। लमजुङको दोर्दी गाउँपालिका–८, निवासी खुशीराम तामाङका नाति एवं सोमबहादुरका छोरा उनलाई भेटेमा पक्राउ गरेर जानकारी गराउन प्रहरीलाई गुहारिएको छ। रामेछापको पकरबासका लालबहादुर कार्कीका नाति एवं रामबहादुर कार्कीका छोरा होमबहादुर ब.क. सिका रुपमा सेनामा कार्यरत छन्। ब्याच नम्बर २९३६९६ भएका उनी घरायसी समस्या देखाएर असार १९ गतेदेखि साउन ७ गतेसम्म छुट्टीमा बसेका थिए। २० दिन बिदा मागेर निस्किएका उनको समेत कुनै अत्तोपत्तो छैन।
हु.क खेमराज पौडेल चुदाली यसैगरी साउन ७ गतेदेखि गायव छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, भेलाइ निवासी भागीरथ शर्मा पौडेलका नाति एवं आनन्तप्रसाद चुदालीका छोरा उनी बेपत्ता भएपछि प्रहरीले खोजी कार्यमा सहयोग गरिरहेको छ।
त्यसैगरी साउन ७ गतेबाट बिदामा बसेकी सिपाही ललिता न्यौपाने अहिलेसम्म पनि सम्पर्कमा नआएको बुझिएको छ। दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका–५, बस्तीकोटका प्रभाखर उपाध्यायको नातिनी एवं यज्ञप्रसाद जैसीकी छोरी उनी आठ दिन बिदा मागेर ब्यारेकबाट निस्किएकी थिइन्। साउन १४ गते हाजिर हुनुपर्ने उनको कुनै अत्तोपत्तो छैन।
त्यस्तै, एकदिन छुट्टीमा बसेका अर्का एक सिपाही बेपत्ता भएको साता कटिसकेको छ। साउन १२ गते घर बिदामा गएका सिपाही मिसन तामाङको कुनै खबर छैन। उदयपुरको भलायडाँडा गाउँपालिका–७ का सुकजित तामाङका नाति एवं मदनबहादुरको छोरा उनलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ।
दुखा साह पनि घर बिदामै ब्यारेकबाट निस्किएका थिए। उपत्यका पृतना हेडक्वार्टरमा कार्यरत उनी रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ६ का विलासको नाति तथा गौरीशंकर साहको छोरा हुन्। अर्का सिपाही मिलन चौधरी स्मार्ट डिजिटल कार्डसहित भगौडामा परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का जागुरामको नाति एवं श्यामलाल थारुको छोरा उनको अत्तोपत्तो नलागेपछि सेनाले भेटेमा पक्राउ गर्न अनुरोध गरेको छ।
यसैबीच सेनाका दुई जना पेरिमिटरको तारबार नाघेर भागेका छन्। ती उमेश केवट र अजयकुमार पासवान हुन्। नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ बस्ने नेउर केवटका नाति एवं रामशरणका छोरा उनी साउन १४ गते भागेका हुन्।