डडेल्धुरा: सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको छ।
आज(शुक्रबार) डिनको कार्यालयले एक सूचना जारी गर्दै माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइक्लोजी, बायोक्यामेस्ट्रीका लागि १/१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयो थेरापीका र नर्सिङ साइन्सका लागि ३/३ जना उपप्राध्यापक माग गरेको छ।
मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ।
त्यसैगरी डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको हो।
मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको छ। अहिले डडेल्धुरा अस्पतालमा उप-क्षेत्रीय अस्पतालको सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताइएको छ।