धनगढी: डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी) बीच लफडा भएको छ। जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच लफडा भएको हो। राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन्। तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन्।
प्रहरीका अनुसार हिजो (बिहीबार) राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा लफडा भएको थियो। राजेशले मदिरा सेवन गरेको अवस्थामा मेयरसँग विवाद भएको र मेयरले विवादका क्रममा ढुङ्गाले टाउकोमा हानेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी राजेन्द्र धमलाले महेन्द्रनगरपोष्टलाई बताएअनुसार गाउँकै एक बिरामी मान्छेलाई गाडीको व्यवस्था गरेर बाहिर अस्पताल पठाउने विषयमा विवाद भएपछि उनीहरुको लफडा भएको थियो। लफडापछि घाइते भएका राजेशको टाउकोमा टाका लगाइएको र अहिले घरमा आराम गरिरहेको प्रहरीले बताएको छ।
मेयर बलायरले आफूमाथि आक्रमण हुने अवस्थामा ढुङ्गा प्रहार गरेको प्रहरीलाई बताएका छन्। स्रोतका अनुसार उनीहरूबीच बेला-बेलामा खटपट परिरहन्थ्यो। राजेशले हिजै राति मेयरको गाडीमा पनि तोडफोड गरेको बताइएको छ। मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश उनका विश्वासपात्र समेत हुन्।
अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।