धनगढीः सुदूरपश्चिममा प्राकृति विपद्धबाट ९० जनाको मृत्यु भएको छ। १० जना बेपत्ता भएका छन्।
२०७९ बैशाखदेखि २०८० साउन ३ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा गरी प्राकृतिक विपदबाट ९० जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। पहिरोबाट ११ जना महिला र १९ जना पुरुष गरी ३० जनाको मृत्यु भएको छ।
त्यस्तै चट्याङबाट ९ पुरुष र ५ महिला गरी १४ जनाको मृत्यु भएको छ। बाढीबाट ६ पुरुष र तीन महिला गरी ९, हिउँ पहिरोमा परेर एक पुरुष र ८ महिला गरी ९, भूकम्पबाट दुई पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ।
त्यस्तै आगलागीबाट दुई पुरुष र चार महिला गरी ६, जनावर आंतकबाट दुई पुरुष र ५ महिला गरी ७, सर्पदंशबाट दुई पुरुष र तीन महिला गरी ५ जनाको मृत्यु भएको छ।
अन्य घटनामा परी एक पुरुष, हावाहुरीबाट एक महिला, भारी वर्षाबाट एक महिला गरी सो अवधिसम्म ९० जनाको मृत्यु भएको छ। प्रदेशभित्र प्राकृतिक विपदका सो अवधिसम्म ७ सय ५२ घटना भएका छन्। ती घटनाबाट महिला र पुरुष गरी दुई सय ३३ जना घाइते भएका छन्। यसबाट प्रभावित परिवारको संख्या चार हजार चार सय ७ रहेको छ भने ७ सय १३ घरमा आंशिक क्षति भएको छ। पूर्ण क्षति भएका घरको संख्या दुई सय ५३ रहेको छ।
त्यस्तै एक सय १३ गोठमा क्षति पुगेको छ भने एक हजार ७ पशुचौपायमा समेत क्षति पुगेको तथ्यांक छ। त्यस्तै पहिरोबाट ७ लाख ८४ हजार बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
चट्याङबाट २२ लाख ८ हजार, आगलागीबाट १८ करोड ४५ लाख ६८ हजार तीन सय ३५, हावाहुरीबाट ३० लाख ९८ हजार, भारी वर्षाबाट २२ लाख ९८ हजार गरेर १९ करोड २९ लाख ५६ हजार तीन सय ३५ रुपैयाँ बराबरको क्षति पुगेको सुदूरपश्चिम आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको अनुमान छ।