कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २४ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार सदस्य बेलबहादुर राना मगर रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूए-ले विगत ३३ वर्षदेखि ‘थ्री डी’ अर्थात् जातीय विभेदमा पारिएका समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र पछाडी परिएका समुदायहरू, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, प्राकृतिक विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गर्दै आएको बताए। उनले सभ्य समाज निर्माण गर्न आवश्यक रहेको बताउँदै हाल संस्थाले विभिन्न परियोजनाहरूमार्फत् यी क्षेत्रमा विकासमूखी कार्य गरि समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको बताए।
उनले समतामुलक समाज निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सबैको सहयोग अपरिहार्य रहेको बताए।
प्रमुख अतिथि प्रदेश सभा सदस्य बेलबहादुर राना मगरले सरकारले नदेखेको र सरकारले गर्न नसकेको क्षेत्रमा एनएनएसडब्ल्यूएले काम गरेको बताए। उनले समाज रूपान्तरणमा संस्थाले गरेको कार्यलाई शब्दमा बयान गर्न नसकिने तर्क गरे। उनले लागुऔषध नियन्त्रण तथा अपाङ्गताको क्षेत्रमा प्रदेश सरकार एनएनएसडब्ल्यूएसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा संस्थाका महासचिव रूपा कौशल परियारले संस्थाको वार्षीक प्रगति प्रतिवेदन पेश गरेकी थिइन्। त्यसैगरी कोषाध्यक्ष कबिता भट्टले आर्थिक वर्ष २०७९/८० को आय-व्यय सहितको वार्षिक बजेट विवरण प्रतिवेदन पेश गरेकी थिइन्।
कोषाध्यक्ष भट्टले ९ वटा परियोजना, एनएनएसडब्ल्यूएको आन्तरिक स्रोत र आउने सम्भावित परियोजनाहरू गरी चालु आर्थिक वर्ष २०८०/८१ लागि १४ करोड ३७ लाख, ५६ हजार ४१४ रूपैँया बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्।
साधारण सभाबाट संस्थाको वार्षीक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित भएको छ। त्यसैगरि सन् २०२२ मा निर्माण भएका तथा संशोधन भएका नीतिहरू साथै कार्य समितिले गरेका निर्णयहरूलाई अनुमोदन गरिएको छ। त्यस्तै कार्य समिति सदस्यमा सिफारिश रोशनलाल चौधरीलाई सर्वसम्मतीमा अनुमोदन गरिएको छ।
संस्थाका महासचिव रूपा कौशल परियारले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कर्मचारीहरूले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य समेटी तयार पारिएको स्वागत गीत प्रस्तुत गरेका थिए। त्यसैगरी अध्यक्ष माया देवी सार्की र संस्थाका कर्मचारी आरती सुनार र गणेश ठगुन्नाले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो।