काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ।
यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबदेखि छोटो धावन मार्ग भएका दुर्गमका विमानस्थलबाट उडान गर्दा प्रत्येक उडानमा सिएए ‘कार (२)’ मा भएका ‘भिएमसी’ (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को सुनिश्चितता गरी चालक र डिस्प्याचरको लिखित घोषणापछि मात्र उडान अनुमति निर्णय भएको जानकारी दिए।
प्राधिकरणले हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको बताउँदै उनले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको उडानमा कुनै पूर्वाग्रह नरहेको प्रस्ट पारे। -गोरखापत्र