धनगढी: हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको छ।
आइ लाइभको आयोजनामा असोज २७ देखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
साँगेतिक क्षेत्रको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले जानकारी दिए ।
पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, स्थानिय व्यापार प्रवद्र्धन, छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेसभुसा र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन् ।
आठ दिनसम्म चल्ने मेलाका लागि ट्राभेल रेन व्याण्ड, कलाकार शिल्पा मास्के, गायक नविन के भट्टराई, चक्र बम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शन रहने छ ।
सुदूरपश्चिम महोत्सव भएको स्थानमा गरिन लागेको मेलामा व्यापारिक फर्म, किसान, उद्योगीहरुलाई स्टल राख्नका लागि बुकिङ खुल्ला गरिने उनले बताए । मेलामा तीन सय बढी स्टल रहने अनुमान रहेको उनको भनाई छ । मेला अवलोकन गर्न जाने प्रति व्यक्तिलाई एक सय रुपैयाँ प्रवेश शूल्क लाग्ने छ । मेला अवधिभर झण्डै एक करोड ३२ लाख बराबरको खर्च रहने अनुमान आयोजकको रहेको छ।