धनगढी: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाई हुँदैछ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशी चढेको छ।
अन्तिम चरणमा रहेको मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ। आज पण्डितको इजलास नम्बर १५ मा मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ।
यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी र उनको आमाको समेत उमेर विवाद देखिएको कागजात झिकाउन आदेश थिएको थियो ।
उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाएपछि उनी रिहा भएका थिए ।
शर्तसहित २० लाख धरौटीमा छाड्ने उच्चको उक्त आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउन फागुन १५ गते अर्को आदेश दिएको थियो ।
तर, किशोरीको उमेर यकिन नहुँदा अड्किँदै आएको मुद्दा उनकी आमाको नागरिकताका कारण पुनः लम्बिएको हो । आज सुनुवाई भए एक–दुई दिनमै अन्तिम फैसला आउने अनुमान गरिएको छ ।