काठमाडौं : नेपाल प्रहरीले लामो समयदेखि काममा नगएका कर्मचारीको खोजी गर्न थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर भएका १४ जना प्रहरी कर्मचारीको खोजबिन शुरु गरेको हो ।
यसअघि पटक-पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा उनीहरुले अटेरी गरेपछि सात दिनको समय दिएर प्रहरी मुख्यालयले पुनःमौका दिएको जनाएको छ । बाटोको म्यादबाहेक आगामी सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्रदो स्पष्टीकरणसहित उपस्थित हुन उनीहरुलाई निर्देशन दिइएको छ ।
‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा, तपाईँहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
स्पष्टीकरण मागिएकामा प्रहरी वृत्त चापागाउँ ललितपुरकी प्रहरी सहायक निरीक्षक सुष्मा केसी, नगर प्रहरी कार्यालय भक्तपुरका प्रहरी सहायक निरीक्षक अस्मिन शाक्य, प्रहरी चौकी चुस्किहाट सुनसरीका प्रहरी सहायक हवल्दार कृष्णकुमार तामाङ, गणडकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक हवल्दार नेत्रप्रसाद काफ्रले, जिल्ला प्रहरी कार्यालय गुल्मी अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका प्रहरी सहायक हवल्दार मेषबहादुर राना रहेका छन् ।
त्यस्तै, नेपाल प्रहरी संगीत विद्यालय नृत्य तथा गायन काठमाडौंका प्राविधिक प्रहरी जवान भरत मुल, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गणनं.२ गुल्म नं.२ महाराजगञ्जका प्रहरी जवान विकल्प राई, प्रहरी वृत्त कीर्तिपुर काठमाडौंका प्रहरी जवान डिलबहादुर खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी जवान विशाल परियार र प्रहरी चौकी लुडथुङ ताप्लेजुङका प्रहरी जवान पृथ्वी राई पनि लामो समयदेखि बेपत्ता भएका छन् ।
गैरहाजिर रहेका प्रहरी चौकी दानसिंह नुवाकोटका प्रहरी जवान ऋषिराम अर्याल, ईलाका प्रहरी कार्यालय सल्यानटार धादिङका प्रहरी जवान धिराज थापा, प्रहरी चौकी सिमार बैताडीका प्रहरी जवान शेरबहादुर बुढाऐर र विमानस्थल सुरक्षा गार्ड मेघौली चितवनका प्रहरी कार्यालय सहयोगी रोहितप्रसाद यादवलाई पनि स्पष्टीकरण सोधिएको छ ।