काठमाडौं – तनहुँमा २७औँ वन्यजन्तु सप्ताह ‘मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सुरु भएको छ ।
भानुभक्त प्राणी उद्यानको आयोजनामा सुरु भएको वन्यजन्तु सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुवैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।
सो उद्यानले वन्यजन्तु सप्ताहका अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहका अवसरमा चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाइ, विद्यालय शिक्षा कार्यक्रम, वन डढेलोसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय सरोकारवालासँग छलफल कार्यक्रम सञ्चालन हुने उद्यानका रेञ्जर दिपेश मिजारले जानकारी दिए ।