काठमाडौं: एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनालले केही अनलाईन मिडियाले भ्रमपूर्ण समचार प्रकाशन गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । खनाल भागेर अमेरिका पुगेको भन्ने समचार केही अनलाईन मिडियामा प्रकाशन भएसँगै उनले समचारको सार्वजनिक खण्डन गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्:
कथित काठमाडौँ टुँडे नाम गरेको एउटा अनलाइनले हाल म व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला मेरो चरित्र हत्या गर्दै ‘६० केजी सुन तस्करी प्रकरण: पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल’ शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण भएकोले त्यसको खण्डन गर्दै उक्त अनलाइनका विरुद्ध कानुनी कारबाहीका लागि अगाडि बढेको म मेरा सबै शुभचिन्तक, पार्टी पङ्तीमा जानकारी गराउन चाहन्छु । भोली सम्ममा यही बाटै प्रेस काउन्सिलमा पनि उजुरी दिने र आवश्यकता अनुसार उक्त अनलाइन लाई कानुनी दायरामा ल्याउन नेपाल फर्कना साथ अघि बढ्ने पनि जानकारी गराउन चाहन्छु ।
मेरो जीवनकालमा, मैले प्रहरी सेवामा प्रवेश गरे देखी प्रहरी महा निरीक्षक बनेर काम गर्दा सम्म कहिल्यै पनि नियम कानुन संविधानको बर्खिलाप हुने गरी कुनै काम गर्दा पनि गरिन र गर्न पनि दिइन । त्यसै कारण गैर कानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेरा विरुद्ध लागि नै रहे । मैले कुनै गैर कानुनी काम गरेको पनि छैन र यदि कहीँ कतै बाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार रहेको बताउँदै काठमाडौँ टुडे जस्ता कथित अनलाइनलाई जथाभाबी नलेख्न, चरित्र हत्या नगर्न चेतावनी दिँदै उक्त समाचारको खण्डन प्रकाशित गर्न अनुरोध गर्दछु । यदि तुरुन्त खण्डन प्रकाशित नभए प्रेस काउन्सिल सहित सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जाने कुरा यसै सार्वजनिक पोस्ट र प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँछु ।’
-सर्बेन्द्र खनाल, पूर्व प्रहरी महानिरीक्षक
अगस्त २८, २०२३, हाल अमेरिका