धनगढी: कैलालीमा हैजाको संक्रमण आउटब्रेक (फेला परेको) भएको छ। अस्ति भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीका अनुसार गौरिगङ्गा नगरपालिका-११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्।
दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। तर, त्यहाँको चिकित्सकले संकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएको थियो। पछि सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो।
अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ। हिजोसम्म आइसियुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको बताइएको छ। एकताका महामारीको रुपमा फैलिएको हैजा लामोसमयपछि पहिलोपटक कैलालीमा देखिएको हो।
के हो हैजा?
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।
सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।
सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डाक्टरहरुको भनाइ छ।
उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्। यो सरुवा रोग हो।