राम धामी, डडेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबिरुद्ध संगठित ठगी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलनको आयोजना गरेर सो सहकारी संस्थाले डडेल्धुरा जिल्लाबाट कुल ३१ करोड, १६ लाख, ७१ हजार, तीन सय १३ रुपैयाँ बचत संकलन गरेको र बचतकर्ताहरुको रकम दुरुपयोग गरेको जानकारी दिएको छ।
डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कुल एक हजार पाँच सय ४४ जनाले बचत रकम फिर्ता मागगर्दै प्रहरी समक्ष उजुरी दिएको बताए। उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा शिव शिखर सहकारी संस्थाबाट ठगिएका छ सय ४९ वटा जाहेरी दर्ता भइसकेको जानकारी दिए।
सो सहकारीका बचतकर्ताहरुबाट आवश्यक प्रमाणसहित जाहेरी माग गरिएको प्रहरीले जनाएको छ। जाहेरी संकलन गर्ने कामसँगै अनुसन्धान शुरु भइसकेको र संगठित ठगी अपराधमा मुद्दा चलाउने तयारी भइरहेको डीएसपी भट्टले बताए। जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ सम्पादन गरेका काम कारवाहीको बारेमा समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
गत साउन १ गतेदेखि साउन मसान्त सम्म जिल्ला प्रहरी कार्यालयमा १७ मुद्दा दर्ता भएको डीएसपी भट्टले बताए। उनले गत साउन ३० गते परशुराम नगरपालिका–१२ कि १४ वर्षीया किशोरी अमृता राउटेको छिमेकी १६ बर्षीय किशोरले बलात्कार पछि हत्या गरेको घटनामा अनुसन्धान कार्य सम्पन्न भई जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता भइसकेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को पहिलो साउन महिनामा सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर सम्बन्धी दुई मुद्दा दर्ता भएका छन्। रुखबाट लडेर मृत्यु÷भवितव्य ज्यान अन्तरगतको एउटा, झुण्डिएर आत्महत्याका तीन, लागु औषध खैरो हिरोइन र चरेश सम्बन्धिका तीन ओटा मुद्दा दर्ता भएका छन्। ज्यान मार्ने सम्बन्धि दुई ओटा मुद्दा दर्ता भएको र घरेलु हिंसा सम्बन्धि चार ओटा उजुरी परेकोमा एउटा फर्छ्यौट भएको, दुई ओटा सम्बन्धित निकायमा पठाएको र बाँकी एउटाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डडेलधुरामा एक महिनाको अवधिमा तीन सय ओटा सवारी साधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारी साधनबाट एक लाख ६५ हजार राजश्व सङ्कलन भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पनि तीव्रता दिएको प्रहरीले एक महिने अवधिमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक जनचेतना सम्बन्धि दुई र बहु–विवाह÷बाल विवाह सम्बन्धि २० ओटा जनचेतनामूलक कार्यक्रम गरेको छ।
लागुऔषध रोकथाम तथा न्यूनीकरणका १३, आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सात, जबरजस्ती करणी र बलात्कार सम्बन्धि छ, महिला हिंसा र जातीय विभेद सम्बन्धि छ, घरेलु हिंसा सम्बन्धि चार, बाल यौन दुव्र्यवहार सम्बन्धि तीन, सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धि पाँच, अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि तीन, महिला हिंसाका १० तथा लैङ्गिक हिंसा विरुद्ध तीन वटा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।