काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठी हो ।
कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे । र रिक्वेस्ट एसेप्ट गर्ने युवतीलाई नजिकको बनाउन विभिन्न प्रलोभन देखाएर नजिक हुन्थे । यसरी युवक युवतीसँग कुरा गर्दै जान्थे । कुरा अगाडि बढ्दै जाँदा चौगुठीले युवतीलाई प्रेम जालमा पार्थे ।
प्रेममा पारिसकेपछि विभिन्न बाहाना बनाएर पोर्न भिडिओ र फोटो लिने र पछि त्यसैको आडमा रकम माग गर्ने देखिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
फोटो तथा भिडिओ पाइसकेपछि युवतीलाई फोटो भिडिओ सार्वजनिक गर्ने धम्की दिएर रकम माग्थे । रकम नदिएको खण्डमा युवतीको अश्लील फोटो फेसबुकमा राखिदिन्थे ।
सुरुमा एक युवतीको उजुरीको आधारमा अनुसन्धान गर्दै गए पनि उनले त्यसरी छ जना युवतीको फोटो तथा भिडिओ लिएर बार्गेनिङ गर्ने गरेको केसीले बताए ।
पक्राउ परेका चौगाठीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा कारवाहीका जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।