काठमाडौं : माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले भेप सुन प्रकरणमा आफू पक्राउ नपर्ने बताएका छन् ।
आज एक सञ्चार माध्यमसंगको कुराकानीमा उनले यो प्रकरणबारे प्रहरी महानिरिक्षक बसन्त कुवँरसँग कुरा भइरहेको र छोरा राहुलले यसबारे दिएको बयानले नै पुग्ने बताएका हुन् । महराका अनुसार आइजी कुवँरले नै उनलाई बयान दिन जानुनपर्ने आश्वासन दिएका छन् ।
‘यसबारेमा आइजीसँग कुरा भइरहेको छ । राहुल आफैं बयान दिन गयो । छोराको बयानले सबैकुरा पुग्छ । म जानु पर्दैन भन्नुभएको छ,’ उनले भने । सुन प्रकरणमा संलग्न रहेको आरोप लागेपछि पक्राउ पुर्जि जारी भएका उनका छोरा राहुललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नियन्त्रणमा लिइसकेको छ।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत भएको इलेक्ट्रिक सिगरेट(भेप) मा राखेर ल्याइएको सुन प्रकरणमा महराका बाबुछोराकै नाम मुछिएको थियो।