विन्दु चन्द, बैतडी: मंगलबार साँझ सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी ५५ वर्षीया पार्वती घटालको मृत्यु भयो । साँझ ७ बजेको समयमा उनलाई आफ्नै घरमा सर्पले टोकेको थियो । उनको राति एक बजेको समयमा मृत्यु भएको हो ।
सर्पले टोकेपछि धामीझाँक्री बोलाएर उनलाई झरफुक गरिएको थियो । केही आराम जस्तो भए पनि राति उनको मृत्यु भयो ।
अस्पताल टाढा
बैतडी जिल्ला अस्पतालमा सर्पदंश उपचार केन्द्र छ । तर उपचारकेन्द्र नपुग्दै सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको छ ।मृतक घटालको घरबाट सदरमुकामस्थित गोठालापानीमा रहेको सर्पदंश उपचार केन्द्र जान एक दिन नै लाग्छ । सडकमा पुग्न ३/४ घण्टा पैदल हिँड्नु पर्छ ।
सडक पुगेपनि कुनै समयमा सवारी साधन समेत पाइँदैनन् । हिँडेर समयमै अस्पताल पुग्न सकिने कुरा भएन । अस्पताल टाढा हुनुकै कारणले ग्रामीण भेगमा सर्पदंशका बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको मृतक घटालका आफन्त गोरखसिंह घटालले बताए ।
“यता स्वास्थ्य चौकि जानै ३/४ घण्टा लाग्छ । यहाँ त उपचार छैन । सदरमुकाम जान गाडी पाइँदैन । अस्पताल नजिक नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,’’ उनले भने ।
धामीझाँक्रीकै भर
अहिले पनि ग्रामीण भेगका बासिन्दा रुढिवादी परम्परा नै अपनाउने गरेका छन् । सामान्य बिरामी भए पनि धामीझाँक्रीकोमा गएर झारफुक गर्ने गर्छन् । नजिक अस्पताल नहुनुले पनि धामीझाँक्रीसँग झारफुक गरिमाग्ने गरेको ग्रामीण भेगका बासिन्दा बताउँछन् ।
मृतक घटाललाई पनि अस्पताल टाढा हुँदा धामीझाँक्रीबाटै झारफुक गरिएको थियो । तर अकालमै उनले ज्यान गुमाउनुपर्यो ।
पछिल्लो एक महिनामा सर्पको टोकाइबाट पञ्चेश्वरमा मात्रै दुई जनाको मृत्यु भएको छ । गत साउन २३ गते मात्रै सर्पले टोकेर पञ्चेश्वर-४ कि १६ वर्षिया अनिता चन्दको मृत्यु भएको थियो । उनको पनि अस्पताल लैजान टाढा हुँदा उपचार नपाइकनै मृत्यु भएको हो ।
वर्षात तथा बर्खायामको समयमा ग्रामीण भेगमा सर्पको विगविगि बढ्ने गरेको छ । नजिक अस्पताल नहुँदा ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि जिल्लाका ग्रामीण भेगबाट अस्पताल टाढा हुँदा सर्पले टोकेका बिरामीहरु अकालमै ज्यान गुमाउन बाध्य छन् । सर्पले टोकीहाले धामीझाँक्री कहाँ जाने प्रचलनले जटिलता निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पञ्चेश्वरमा मात्रै सर्पको टोकाइबाट यो वर्ष तीन जनाको ज्यान गइसकेको छ ।