काठमाडौं : आइतबार अपराह्नदेखि बेपत्ता नन्द बक्स गुल्म, डोल्पाका मेजर विमल पण्डित हराएका झण्डै एकसाता भइसक्दा कुनै अत्तोपत्तो छैन। सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला पर्न सकेका छैनन्। उनको अवस्था अज्ञात छ।
सेनाले मेजर पण्डितको चारै तर्फबाट खोजीकार्य तीव्र पारेको छ। डोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्लाबाट सम्भावित ठाउँमा खोजी भएको छ ।
आइतबार उनी ब्यारेकबाट निस्केपछि सदरमुकाम दुनैको एक पसलेसँग पैसा लिएर भाडाको गाडीमा त्रिपुरासुन्दरी गएको बताइएको थियो। मेजर पण्डितले आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज, आज म एक्लै जान्छु’ भनेर फर्काएका थिए। त्रिपुरा सेनाको ब्यारेकबाट झन्डै एक घण्टाको दूरीमा पर्दछ।
पण्डित आइतबार अपराह्न साढे ४ बजे इभिनिङ वाकका लागि भन्दै ब्यारेकबाट निस्किएका थिए । त्यसअघि काठमाडौँमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए। कुराकानीलगतै उनको मोबाइल स्वीचअफ भएको थियो। मेजर पण्डितले लामो समयदेखि साइकियाट्रिकको औषधि सेवन गर्दै आएका थिए।
मेजर पण्डित हराएको विषयलाई घरायसी लफडासँग पनि जोडेर हेर्न थालिएको छ । गृहले घरायसी विषयलाई पनि उनी बेपत्ता भएको घटनासँग जोडेर हेरेको बताइन्छ।
हराएको अवस्था, घरायसी सम्बन्ध र उनको व्यक्तिगत आचरणलाई विश्लेषण गर्दै सेनाका अधिकृतहरूले पण्डित केही दिनमा भेटिने झिनो आशा अझै राखेका छन्।