काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेको छ । प्राधिकरणले शुक्रबार एओसीआर संशोधन गरेको हो ।
संशोधित व्यवस्था अनुसार अब वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न पाउने छैनन् । प्राधिकरणबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्युनतम पाँच वर्षको अवधिसम्म शेयर लगानीकर्ताले आफ्नो शेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने भएका छन् ।
यस्तै, प्राधिकरणले वायुसेवा संचालन गर्न ईच्छुक नयाँ कम्पनीहरुसँग न्युनतम ३ वटा जहाज हुनुपर्ने, सबै वायुसेवा कम्पनीहरुले आगामी ५ वर्ष भित्रमा जहाजको संख्या न्युनतम ५ वटा पुर्याउनुपर्ने तथा प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुने, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर तथा पोष्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरितका क्रियाकलाप संचालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक रुपमा व्यक्त गर्न नपाउने व्यवस्था गरिएको छ ।
यस्तैगरी, वायुसेवा कम्पनीका एकाउन्टेबल म्यानेजर तथा पोष्ट होल्डरहरुले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यवसायिक कार्यहरु (जस्तै टुर्स एण्ड ट्राभल्स) आदिमा संलग्न हुन नपाउने, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानेजरले प्राधिकरणद्वारा प्रदान गरिएको सीपिएल, एटीपीएल, वा एएमएल लाइसेन्स प्राप्त गरेको भए सो को अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने, पाइलटले उडान बाहेक अन्य व्यवसायिक गतिविधिमा संलग्न रहन नपाउने गरी एओसीआर संशोधन गरिएको छ ।
यस्तै, प्राधिकरणले उक्त रिक्वायरमेन्ट संशोधन गर्दै प्राधिकरणको स्वीकृति बिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीहरुले एकाउन्टेबल म्यानेजर तथा पोष्ट होल्डरहरु नियुक्त गर्न नपाउने तथा प्राधिकरणले वायुसेवा कम्पनीहरुको एकाउन्टेबल म्यानेजरको नियुक्ति, आवश्यक न्युनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गरेको हुनुपर्ने गरी एओसीआर संशोधन गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।