धनगढीः सुदूरपश्चिम प्रदेशमा लागुऔषध दुरुपयोगको समस्या दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएपछि प्रदेश प्रहरी कार्यालले स्कुल/कलेज केन्द्रित महाअभियान थालेको छ ।
प्रहरीले धनगढीका स्कुल तथा कलेजहरुमै पुगेर लागुऔषधका नकारात्मक असर र समाजमा फैलिएको विकृतिबारे छात्र–छात्राहरुलाई ज्ञान प्रदान गरी सचेत गराइरहेको छ । लागुऔषधबाट सबैभन्दा बढी युवा र त्यसपछि किशोर/किशोरीहरु प्रभावित बन्न पुगेपछि यसको नियन्त्रणका लागि प्रदेश प्रहरीले विद्यालय र कलेज केन्द्रित “लागुऔषधविरुद्वको महाअभियान, २०८०” नै सुरु गरेको हो ।
अभियान अन्तर्गत आज धनगढी उपमहानगरपालिका–३ त्रिभुवनचोकस्थित त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ९१ जना छात्र/छात्रालाई लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिइएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छात्र/छात्राहरुलाई लागूऔषधको परिचय, सेवनकर्तामा देखिने लक्षण, पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा प्रशिक्षण गराएका हुन् ।
त्यस्तै, आज नै धनगढी–५ हसनपुरस्थित ऐश्वर्य विद्या निकेतन माध्यामिक विद्यालयका पनि कक्षा ११ र १२ का १७८ जना छात्र/छात्रालाई प्रशिक्षण दिइएको छ । लागुऔषधविरुद्धको यो अभियानले लागुऔषध सेवनमा कमी आउने अपेक्षा गरिएको छ ।