काठमाडौंः कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको नदीजन्य वस्तुको मुद्दामा राजनीतिक फ्याक्टरसमेत जोडिएको छ। तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्टको पालामा भएको नदीजन्य वस्तुको ठेक्कामा भएको भ्रष्टाचार मुद्दामा नेकपा (एमाले) सहित नेपाली काँग्रेसका नेताहरूको पोलिटिकल कनेक्सन देखिएको हो।
स्रोतका अनुसार पार्टीभित्रको अन्तरद्वन्दले सो भ्रष्टाचार मुद्दामा पनि स्थान पाएको हो। काँग्रेस कञ्चनपुरका केही नेता तथा कार्यकर्ताहरु गुटगत राजनीतिकै कारण उक्त मुद्दामा सिकार भएको बताइएको छ। पहिल्यैदेखि कञ्चनपुरमा काँग्रेसभित्र हालका परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउँद र काँग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच अन्तरद्वन्द थियो। सो अन्तरद्वन्द भीमदत्तको नदीजन्य वस्तुको ठेक्कामा छुट दिएर राजस्व चुहावट गरेको भ्रष्टाचार मुद्दाका सवालमा छताछुल्ल भएको बताइन्छ।
सो मुद्दामा भएभरको पहुँच लगाएर रमेश लेखकले आफू निकट कार्यकर्तालाई जोगाएको र एनपी निकटकालाई मुद्दा लगाउन दबाब दिएको आरोप लागेको छ। सो भ्रष्टाचार मुद्दामा अहिले प्रतिवादी रहेका एनपी निकट इन्जिनियर हिमालय ऐर, तत्कालीन नगरप्रमुख (एमालेका तर एनपी निकट इष्टमित्र) सुरेन्द्र विष्टसहित दिवाकर भट्ट, केशवराज भट्ट, इश्वरी भट्ट, पुष्पराज भट्ट खगेश्वरी भट्टसमेतलाई मुद्दा चलाइएको छ।
सो ठेक्का प्राप्त गर्ने भवानी कन्स्ट्रक्सनका मालिक समेत रहेका स्व. इश्वरी भट्ट काँग्रेसको (एनपी निकट) आमन्त्रित जिल्ला सदस्यसमेत थिए। यस्तै लेखककै प्रेसरमा एमाले निकट कर्मचारीलाई पनि मुद्दा चलाइएको बताइएको छ। जसमा तत्कालीन प्रशासकीय अधिकृतहरु रहेका छन्। अख्तियारमा आफू निकट आयुक्त जयबहादुर चन्द भएकै कारण आफूहरुलाई मुद्दा चलाउन दबाब दिएको एनपी निकटस्थहरुको दाबी छ।
त्यो बेला जयबहादुर सुदूरपश्चिम हेर्ने आयुक्तसमेत थिए। सोही मौकामा जयबहादुरले अख्तियारमा पनि आफू अनुकूल मान्छे खटाएर अनुसन्धान गरेको बताइन्छ। उता एनपीले भने आफूहरूलाई संरक्षण नगरेको निकटस्थको गुनासो छ। पटकपटक भट्ट टोलीसहितले एनपीलाई गुहार माग्दा पनि सहयोग नमिलेको स्रोतको भनाई छ। मन्त्री भएपछि भोजभतेरमै मस्त एनपीको साथ सोही कारण कार्यकर्ताहरुले छोड्दै गएका छन्। स्थानीय निर्वाचन र पार्टीको जिल्ला अधिवेशनमा पनि एनपी निकटका मानिने पदम बोगटीसहितलाई रणनीतिक रुपमा लेखकले आफूतिरै तानेको बुझिएको छ।
मुद्दा लगाउन आयुक्त प्रयोग
एनपी निकटस्थ कार्यकर्ताका अनुसार भ्रष्टाचार मुद्दामा जसरी पनि एनपीका मान्छे हाल्न भन्दै लेखकले अख्तियारका आयुक्त जयबहादुर चन्दलाई नै खटाएका थिए। चन्दले विभिन्न खेलोमेलो गरेरै भएपनी लेखकका मान्छेलाई जोगाएको बताइन्छ। आयुक्त चन्द तीनै मान्छे हुन् जोलाई एकताका पैसा बुझाएर नेपाल प्रहरी आइजीपी हुन खोजेको आरोप लागेको थियो। त्यो बेला पनि रमेश लेखकमार्फत चन्दले काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य (वर्तमान) आरजु राणा देउवालाई पैसा बुझाएर आइजीपी हुन खोजेको आरोप खेपेका थिए।
तर, त्यति बेला चन्दको त्यो प्रयास भने विफल रह्यो। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई आइजीपी नियुक्त गरेपनि उनी नियुक्त भएको केही घण्टाको समयमै उनको पद खोसियो। तत्कालीन समयमा सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा आइजीपी नियुक्त गर्न भन्दै गृहलाई सुझाएको थियो। त्यसपछि चन्दभन्दा सिनियर प्रकाश अर्याल आइजीपी नियुक्त भएका थिए। सो समयमा नेपाल प्रहरी ३ महिनासम्म नेतृत्वविहीन समेत बनेको थियो। त्यसबेला ती चन्दलाई भित्ते आइजीपीको नामले चिन्ने गरिन्थ्यो।
त्यसपछि नेपाल प्रहरीको एआइजीबाटै रिटार्यड चन्द नेपाली काँग्रेसको कोटाबाट अख्तियारमा छिरेर आयुक्त बनेका थिए। आयुक्त बन्न लेखकको आशीर्वाद रहेकै कारण पछिल्लो संसदीय निर्वाचनमा उनलाई जिताउन चन्द महेन्द्रनगर र धनगढी नै पुगेर बसेका थिए। सो समयमा चन्दले धनगढीको रुबस होटल र महेन्द्रनगरको एक होटलमा बास बसेर जिल्लाका व्यवसायीसहितका मतदातालाई प्रभावमा पारेको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालका तत्कालीन महासचिव क्षितिज थेबेले विज्ञप्ती नै निकालेका थिए।
यतिमात्र होइन, संसदीय निर्वाचनकै बेला लेखकका प्रतिद्वन्दी (एमालेकी नेतृ निरुदेबी पाल) को सूचना लिनका लागि जयबहादुरले आफन्त समेत रहेका तेजबहादुर चन्दलाई ड्राइभर बनाएर खटाएका थिए। तेजबहादुर तीनै मान्छे हुन्, जो भ्रष्टाचार मुद्दामा मुछिनैपर्ने भएपनी जयबहादुरकै कारण चोखिएका छन्। उनीजस्तै अरु थप २/३ जना अरुलाई पनि यो मुद्दामा छुट मिलेको बताइएको छ।
र, यो पनिः