धनगढीः नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन गरिएको छ । चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डंगौरा र संरक्षणकर्मी राजीव चौधरीले संयुक्त रूपमा “घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू” नामक पुस्तक प्रकाशन गरेका हुन् ।
डिभिजन वन कार्यालय पहलमानपुर, चरा संरक्षण नेटवर्क र पन्क्षी संरक्षण नेपालको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो । घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म पाइएका ३९० प्रजातिका चराको बारेमा पुस्तकमा उल्लेख गरिएको पुस्तकका लेखक तथा चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए ।
१५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले पुस्तक विमोचन गरेका थिए । विश्वमा लोप हुँदै गएका चरा घोडाघोडीमा पाइने गरेका छन् । २०७८ मा प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो ।