बाजुरा: बाजुराको धार्मिकस्थल बडीमालिका मन्दिर परिसरमा नेपाली सेनाले सरसफाइ गरेको छ । ४ हजार २१२ मिटरको उचाइमा रहेको बडीमालिका मन्दिरमा सेनाको बाजुरास्थित दुर्गाभन्जन गुल्मले सरसफाइ गरेको हो ।
बडीमालिकामा जनैपूर्णिमाको अवसरमा लागेको मेलाका क्रममा भएको फोहोर सेनाले व्यवस्थापन गरेको छ । दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकबाट गएको टोलीले बडीमालिका मन्दिर परिसर त्रिवेणी पाटन क्षेत्रबाट २२ बोरा फोहोर संकलन गरी व्यवस्थापन गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धमेन्द्र बहादुर सिहंले बताए ।
मन्दिरको सौन्दर्य तथा प्राकृतिक सौन्दर्यलाई मध्यनजर गर्दै दुर्गाभन्जन गुल्मबाट खटिएको एलआरपी टोलीले संकलन गरेको २२ बोरा फोहोर उचित स्थानमा डिस्पोजल गरेको गुल्मपती सिंहले बताए । नेपाली सेनाले बडीमालिका मन्दिरमा लाग्ने मेलामा मेला व्यवस्थापन, फोहर व्यवस्थापन, स्वास्थ्य शिविर लगायतका कार्यहरु गर्दै आएको छ ।