रौतहट : रौतहट प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएको थियो।
गाउँलेद्वारा नै बालिका अपहरण गरिएको थाहा भएपछि शनिवार बिहान ५ बजेको समयमा बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेको निजका बुवा अवधेशकुमार महतोले बताए।
छोरीलाई छिमेकी रञ्जित साह र नरेश साहले अपहरण गरेर बेच्न भारत पुर्याएका थिए। दुईजनाले अपहरण गरेर लगेको कुरा खुलेपछि उनीहरूका परिवारमाथि दबाव दिएपछि भोलिपल्टै गाउँछेउमा ल्याएर छाडेका थिए।
दुबै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्न जाहेरी इलाका प्रहरी कार्यालय गरुडामा दिइसकेको उनले बताए।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले दुईजनालाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको तथा बालिकाको स्वास्थ्य परीक्षण लगायतका काम भइरहेको बताए।