धनगढी: २०५२ सालतिरको कुरा हो, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दलबलसहित जंगल पस्यो। तत्कालीन अवस्थामा माओवादीहरु रुकुम तथा रोल्पाबाट भूमिगत भएका थिए।
त्यसबेला नेपाल सरकार, सुरक्षा निकाय, फरक दलका नेता कार्यकर्तासहित आम नागरिकले पनि सास्ती व्यहोरे। त्यसबेला गाउँ-गाउँमा आक्रमणदेखि चन्दा धन्दा समेत चलाएर उधुम मच्चाए।
अचेल तीनै माओवादीहरुले त्यसलाई जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व भन्ने गरेका छन्। जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच २०५२ सालदेखि २०६३ सम्म चलेको थियो।युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यो युद्ध समाप्त भएको थियो।
त्यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ। उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो। त्यसपछि बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४,००० उजुरीहरू दर्ता भएका थिए जसमध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। बेपत्ता आयोग अन्तर्गत परेका ३,००० भन्दा बढी उजुरीहरूमा पनि छानबिन भइरहेको बताइएको छ। तत्कालीन नेपालमा गरिएको १० वर्षे जनयुद्धपछि माओवादी संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी थियो। तर अहिले भने माओवादीको साख खस्दै गएको देखिएको छ। अहिले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले त्यो विरासत कायम गर्नै सकेन।
त्यहीँ खस्दो साखका कारण अहिले फेरि माओवादी केन्द्र गाउँ-गाउँ पसेको छ। तर अवस्था अहिले फेरिएको छ। उसो त व्यवस्था नै आफूले फेरेको दाबी गर्ने माओवादी र त्यसका नेताहरु पनि परिवर्तन भएका छन्। तत्कालीन अवस्थामा झुत्रे देखिने नेताहरु अहिले सुकिलामुकिला भएर गाउँ पसेका छन्। उनीहरुले सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लामा जनतासँग माओवादी विषेश रुपान्तरण अभियान चलाइरहेका छन्।
माओवादीले अहिले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै स्थानीय तहमा अभियान सुरु गरेको जनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले शनिवार दिउँसो अभियानको सुरुवात गरेसँगै सुदूरपश्चिममा पनि अभियान सुरु भएको हो।
सुदूरपश्चिममा ७९ वटा टोली परिचालन गरिएको माओवादीले बताएको छ। नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुरु भएसँगै माओवादीका नेता कार्यक्रता गाउँ छिरेका हुन्।
पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यले धनगढी उपमहानगरपालिका सबै वडाको संयुक्त रुपमा अभियानको उद्घाटन गरिएको जानकारी दिए। उनले यो अभियान जनतालाई रुपान्तरण गर्न नभएर माओवादी आफू रुपान्तरण हुन संचालन गरिएको बताए।
यस्तै आचार्यले जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकोले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको बताए।
कहाँ को खटिए ?
कैलालीमा केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरु त्रिलोचन भट्ट, शान्ति नेपाली रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वार, लोकेन्द्र लम्साल खटिएका छन्। प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि अभियान टोलीको नेतृत्व गरेका छन्।
डडेल्धुरामा ५ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्यहरु, भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी रहेका छन्।
दार्चुलामा १० वटा टोली खटिएका छन्। जिल्ला संयोजक र प्रदेश सदस्यहरुले पनि अभियान टोलीको नेतृत्व गरेका छन्।
केन्द्रीय सदस्यहरु, नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पान पसिंह धामी, लालबहादुर बिक, प्रदेश सदस्य हुन्। त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टीमको नेतृत्व गरेका छन्।
बैतडीमा ८ वटा अभियान टोली खटिएका छन्। एकजना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन्। जसमा रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मानसिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मानसिंह माल रहेका छन्।
अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन्। अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन्। केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरु जोरासिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, इश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन्।
डोटीमा ६ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन्। त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन्।
कञ्चनपुरमा ९ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सदस्यहरु, नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन्। त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन्।
बाजुरामा ५ वटा अभियान टोली खटिएका छन्। केन्द्रीय सस्यद देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियारले अभियान टोलीको नेतृत्व गरेका छन् भने जिल्ला सचिव रमेशराज बिकले पनि नेतृत्व गरेका छन्।
बझाङमा १० वटा अभियान टोली खटिएका छन्। जसमा केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह गगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक, प्रदेश उपाध्यक्ष, रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन्।