धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो।
उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। प्राप्त जानकारीअनुसार भारतको छियालेकदेखि गर्ब्याङ हुँदै सीतापुलसम्मको नोटिफाइड एरियाबाट यात्रा गर्न सबैले भारतीय प्रशासनको परमिट (लिखित अनुमति) बनाइएको छ। रोकिएका तीनै जनालाई ‘आप लोगोँ कि परमिट में कुछ फर्क है’ भन्दै रोकिएको थियो। धारचुलास्थित एसडिएम कार्यालयबाट आदेश आएपछि मात्रै रोकिएका ती तीन जनालाई जान दिइने एसएसबीले जानकारी दिएको थियो। आधा घण्टासम्म कुनै जवाफ नआएपछि रोकिएका उनीहरु धारचुला हुँदै नेपालतर्फ फर्किएका छन्।
भारतीय सीमा बजार धारचुलाबाट १४ किमी दूरीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल छ। उक्त स्थानलाई नेपालतर्फ तिगरम र भारततर्फ रौंउती भनिन्छ। जहाँ पुल सुरक्षार्थ खटिएका एसएसबीको पोष्ट छ। हिजो दिउँसो एसएसबीका डिआइजीले सशस्त्र प्रहरीका एआइजी दाहाल, एसपी बिष्ट र दार्चुलाका प्रजिअसँग भेटघाट र सौहार्द्रपूर्ण वातावरणमा कुराकानी गरेको बताइन्छ। तर, नेपाली सुरक्षा टोलीसँगै रहेका महाकाली नगरपालिका प्रमुख, व्यास गाउँपालिका अध्यक्ष र विद्यार्थी नेता दिपक खातीलाई भने व्यास जान रोकियो।
दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको अर्को भूमिमा जानका लागि पनि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। त्यसमाथि भारतीय एसएसबीले बेलाबेला दुख दिने गरेको हुन्छ। नगरप्रमुख चैसिरसहितका उनीहरु सशस्त्र प्रहरीको विओपी स्थापना कार्यक्रममा सहभागी हुन व्यासको वडा नम्बर १ स्थित तिंकरतर्फ जान लागेका थिए।
उनीहरू भारतीय माेटरबाटाे हुँदै सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल, दार्चुलाका सिडिओ किरन जाेशी, सशस्त्रका त्यहाँका एसपी डम्बरबहादुर विष्टसँगै गइरहेका थिए। तर, ३ जनालाई मात्र रोकेर अरुलाई जान दिइएको सिडिओ जोशीले बताइन्। उनका अनुसार अहिले पनि मेयरसहितको टोली त्यहीँ रोकिएको हो।
एसएसबीले बिनाकारण चेकिङका नाममा दुख दिएको रोकिएकाहरुको आरोप छ।