धनगढी: सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ। विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट रकम असुली गरेको भिडिओ सार्वजनिक भएका भट्टलाई मन्त्रालय तानिएको हो।
केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका कार्यालयबाट पैसा उठाएको कुरा बक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो। वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरे।
वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा समेत छानविन भइरहेको जनाएको छ। यस्तै, भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले पनि उनीसँग सोधपुछ गरेको छ।
तर सोधपुछमा भट्टले अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिएका छन्। सार्वजनिक लेखा उपसमितिले भने भट्टमाथि छानबिन सकेर प्रतिवेदन लेख्ने काम भइरहेको जनाएको छ। उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भट्टमाथि छानबिन थालेको छ।
महेन्द्रनगरस्थित अख्तियारको कार्यालयले भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम तोेकेरै उठाएको बताएको भिडिओ सार्वजनिक भएपछि भट्टमाथि छानबिन अघि बढाइएको जनाएको छ। अख्तियार महेन्द्रनगरका प्रमुख आशमान तामाङले भट्टमाथि छानबिन भइरहेको जानकारी दिए।
खासगरी वन निर्देशनालयको तत्कालीन निर्देशक रहेकै बेला हेमराज विष्ट भ्रष्टाचार मुद्दामा मुछिएपछि भट्टले निमित्त वन निर्देशकको जिम्मेवारी पाएका थिए। गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि विष्ट वन निर्देशकको जिम्मेवारीमा फर्किएका थिए। उनीभन्दा वरिष्ठ अधिकृत विष्टले अदालतबाट सफाइ पाएर पहिलेकै जिम्मेवारीमा फर्किएपछि पनि भट्टले निमित्त निर्देशक बन्ने चाहाना राखेका थिए।
नेपाली कांग्रेस निकट मानिने भट्टको निमित्त निर्देशक बन्ने चाहाना पूूरा गर्न मुख्यमन्त्री कमलबहादुुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको जोडबलमा विष्टको मन्त्रालयमा सरुवा गरिएको थियो। विष्टको सरुवा भएपनि उनी अहिले वन निर्देशनालयको निर्देशककै रुपमा काम गरिरहेका छन्।