काठमाडौँः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइली घुब्रेनी बस्छन् ४८ वर्षीय अमरबहादुर विष्ट । उनी बैतडीबाट बसाइँ सरेर सुर्खेत आएका रहेछन् । २०५२ सालतिरै सुर्खेतमा जमिन किनिसकेको बताउने उनी सुर्खेतमा जीवनयापन गर्न बैतडीभन्दा सहज रहेको बताउँछन् ।
‘यता बस्न थालेको ८ वर्ष भयो, पहिला हामीहरुको गाडी थियो । हाम्रो गाडी सुर्खेत आउँथ्यो । यताको हावापानी हाम्रै उताको जस्तो लाग्थ्यो, परिवार पाल्न उताभन्दा यता सजिलो देखेँ मैले, धेरै दौडधुप गर्न नपर्ने, सजिलो तरिकाले पैसा कमाउन सकिने, खेतीपातीबाटै जीविकोपार्जन गर्न सकिने । अनि यतै बसाइँ सरेँ,’ उनले भने ।
बैतडीमा खेतीपाती गरेर सागपात उब्जाए पनि बजार नै नपाइने, बाटोको पनि उत्तिकै समस्या हुने हुँदा बसाइँ सर्नु परेको विष्ट बताउँछन् । सुर्खेतमा भने परिश्रम गर्न सके त्यस्तो कुनै समस्या नरहेकोले काम गरेर खान सजिलो रहेको उनको भनाइ छ ।
‘यता बजारको समस्या छैन । घर धान्न सजिलो छ । मेरो थोरै खेत छ, सागपात लागाउँछुँ, बेच्छुँ, खर्च चलिहाल्छ,’ उनले अगाडि भने, दुई भैँसी, आठ बाख्रा पालेका छौँ । दुध, घ्यु बेच्यो, पैसा आइहाल्छ । अरुको खेत पनि अधियाँ लिएका छौँ, सागपात उब्जाएर बेच्दा मजाले खर्च चल्छ । बजार नपाइएला भन्ने पिर छैन ।’
तर, बैतडीमा अहिले उतिबेला जस्तो अवस्था नरहेको बताउँदै उनी भन्छन्, ‘अहिले त बैतडीमा पनि त्यस्तो धेरै समस्या छैन । पहिलेको हाम्रो बेलाभन्दा अहिले धेरै परिवर्तन भएको छ । गाडी छन्, बाटो छ ।’
बैतडीको दोगडाकेदार गाउँपालिकाको कालागाउँ भन्ने ठाउँबाट सुर्खेत सरेका विष्ट अहिले अटो चलाउँछन् । अटोबाट राम्रै आम्दानी भइरहेको र खर्चको पिर लिनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । दुई छोराछोरी र श्रीमतीसहित सुर्खेत बसिरहेका उनका दुई छोराछोरी भने बैतडी नै बस्छन् । उनीहरुको उतै बिहे भइसकेको छ ।
यता दुबै छोराछोरी कक्षा ८ मा पढिरहेका छन् । नजिकै विद्यालय भएकाले छोराछोरीलाई पढाउन पनि सहज छ । स्वास्थ्य, शिक्षाको सहजै उपलब्धता हुनु र घर खर्च धान्न पनि गाह्रो नभएपछि बसाइँ सरेकोमा कुनै पछुतो नरहेको उनी बताउँछन् ।
चाडपर्वका बेला बैतडी जाने गरेको बेलामौकामा परिवारसँग भेटघाट भइरहने गरेको उनी बताउँछन् । ‘गइन्छ कहिलेकसो, चाँडबाँडमा विशेष गरी । दसैँ तिहारका बेला कहिले हामी उता जान्छौँ, कहिले उताबाट आमाबुबा, भाइबुहारीहरु सबैजना सुर्खेत आउनुहुन्छ,’ उनले भने, ‘यसपाली छोरीको नाति भाछ, बच्चा ल्याएर आउन लामो बाटो गाह्रो हुन्छ । हामी जान्छौँ होला ।’
घर फर्कन मन लागे पनि उता परिवार पाल्न गाह्रो होला भन्ने लागेर फर्कन नसकिरहेको उनले बताए । ‘घर फर्कन मन त लाग्छ नि, के गर्नु उता गएर कमाउन सकिएला कि नसकिएला भन्ने हुन्छ । उता पहाड विकट भएर यता अवसर देखेर सर्ने निर्णय गरेको थिएँ । राम्रै चलिरहेको छ अहिलेसम्म,’ उनले भने ।