कञ्चनपुर – रूढीवादी परम्परा अनुसार धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको मृत्यु भएको छ । धामी झाँक्रीबाट झारफुक गराउने क्रममा वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया रन्चुला साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
केही दिनदेखि अस्वस्थ उनी उपचारका लागि राम्रो अस्पतालमा नगई धामी झाँक्रीबाट झारफुक गराउँदै आएकी थिइन्।
रूढीवादी परम्परा र धामी झाँक्रीका कारण एकल महिला रन्चुला साउदले ज्यान गुमाउनु परेको र यो घटना जघन्य अपराध भएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने उनको भनाइ छ।
घटनाबारे अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामी झाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामी झाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा उक्त घटना भएको बताइएको छ।
मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।