कैलाली– कैलालीमा चुनावी तालमेलका विषयमा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन । सहमितका लागि बसेको छैठौं बैठक पनि निष्कर्ष विहीन बनको छ । शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो ।
दलहरुबीच सहमति नजुटेपछि भागबण्डा टुंग्याउने जिम्मा प्रदेशस्तरीय समितिलाई दिइएको छ । बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये ११, नेकपा माओवादी र एकीकृत समाजवादीले चार÷चार स्थानीय तहमा दाबी गरेको छ ।
काँग्रेसले तत्कालिन फोरम लोकतान्त्रिकसहितको मतभार हेरेर धनगढी उपमहानगरपालिकासहित ११ पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि कैलारी गाउँपालिका र भजनी नगरपालिका गरि दुई पालिकामा दाबी गरेकोमा शनिबारको बैठकमा भने चार पालिकामा दाबी गरेको छ । समाजबादीले चार पालिकामा दाबी गरेपछि माओबादीले पनि नेतृत्व गर्ने पालिका संख्या बढाएको उनले बताए ।
काँग्रेसले आफ्नो मतभारका आधारमा ११ मा दाबी गरिएपछि धनगढीसहित आठ पालिका पाउनुपर्ने अन्तिम बटमलाइन रहेको सचिव सुनारले बताए । उनका अनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको सचिव सुनारले बताए । उनका अनुसार गठबन्धकै विषयमा काँग्रेस कैलालीको आन्तरिक बैठक आइतबार बस्दैछ ।
२०७४ को निर्वाचनका आधारमा नेपाली काँग्रेसले कैलालीको गोदावरी, लम्की, टीकापुर नगरपालिका तथा चुरेमा काँग्रेसको दाबी छ । हाल धनगढी उपमहानगरपालिका, वर्दगोरिया, जानकी र जोशीपुर गाउँपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधि छन् ।