धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीसहितको टोलीले धनगढीका निजी अस्पतालहरुमा छापा हानेर अनुगमन गरेको छ। आज (मंगलबार) सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले धनगढीका ३ अस्पतालमा छापा हानेर अनुगमन गरेको हो।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार धनगढीको स्वस्तिक अस्पताल, सञ्जीवनी अस्पताल र सौभाग्य अस्पतालमा छापा हानेर अनुगमन गरिएको हो। अनुगमनका क्रममा स्वस्तिक अस्पताल र संजिवनी अस्पताल अवैध रुपमा चलाइरहेको पाइएको उनले बताए।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पनि २ अस्पताल अवैध रहेको पाइएको बताए। उनका अनुसार यी दुबै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएको हो।
अनुगमनका क्रममा सौभाग्य अस्पताल भने दर्ता भएर सञ्चालनमा आएको पाइएको जोशीले बताए। यस्तै स्वस्तिक अस्पताल र सञ्जीवनी अस्पतालको फार्मेसीसहितलाई बन्द गरिएको जोशीको भनाई छ।
कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, एक सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ। तर स्वस्तिक र सञ्जीवनीले अनुमति नलिई सेवा सञ्चालन गरिरहेका थिए।
र, यो पनि: