काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा ब्रेक शुबाट ३ सय २ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।
रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइ छिपाइ अवैध पैठारी गरेको झण्डै ६१ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भइ आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको झण्डै ३ सय २ किलो सुन अवैध पैठारी भएको सीआईबीले जनाएको छ ।
सीआईबीले रेडी ट्रेडसहितका ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।
आज पत्रकार सम्मेलन गर्दै सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ । पक्राउ परेका ९ विदेशीसहित ३२ जना र फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिइएको छ ।
सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ ।