काठमाडौं : सम्पर्कविहिन भएको १७ दिनपछि फेला परेको नेपाली सेनाका गुल्मपतिको शव काठमाडौं ल्याइएको छ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव पोस्टमार्टमको लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
गत भदौ १० गतेदेखि बेपत्ता गुल्मपति पण्डितको शव दुनैबाट १८ किलोमिटर पश्चिम ठूलीभेरी नदीबीच ठूलो ढुङ्गाको चेपमा फेला परेको थियो । अनुहार नचिनिने अवस्थामा फेला परेको शव औंठी र घडीको आधारमा पहिचान भएको हो ।
त्यस्तै, रुकुममा एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन् । नरसिंह दल गणमा कार्यरत खलङ्गा घर भएका सिपाही गणेश बोहोराले अस्ति आफैंले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।
बिदामा घर गएका उनले घाँटी रेट्दै गरेको देखेपछि परिवारले रोक्ने कोसिश गरेका थिए । सो क्रममा एक जना घाइते भएका छन् । हाल उनको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।