बिन्दु चन्द, बैतडी: बुबा भन्ने शब्दै क्या छ । बुवा भनेपछि त…? के भनु ? म महसुस गर्न सक्छु तर वर्णन गर्न भने मसँग कुनै शब्द नै छैन । मसँंग मात्रै होइन बुबाको वर्णन गर्न कसैसँग पनि कुनै शब्द नै नहोलान् । जो युवा तथा बढ्दो उमेरमा पनि बुबासँग हुनुहुन्छ । उहाँभन्दा बुबाको अभाव खड्केकाहरुलाई बुबाको महत्व बढी थाहा हुन्छ होला ।
मैले पनि बुबाको अभाव झेलेकी छुँ । बुबाले छोडेर जाँदा म ४ कक्षामा पढ्थे । चाँडबाँड, मेला महोत्सव आउँदा बुबाको हात समाउँदै घुम्न जाने अनि आवश्यक्ताका मालसामान किन्न बुबासँग भन्नु पर्ने । नभन्दै पूरा पनि हुने । आहा! त्यो दृश्य सम्झिँदा बालापनको खुब याद आउँछ । भक्कानो फुटेर आउँछ । आँखामा तप्प आँसु खसेको पत्तै हुँदैन ।
अहिले कसैले कहीँ कतै जान बुबासँग सोध्नुपर्ने, कुनै कामकाज गर्न बुबाबाट सल्लाह लिएको देख्दा सोचिन्छ मेरा पनि बुवा भइदिएको भए म कहाँ हुन्थे होला । विभिन्न कल्पनाहरु ग्रिन्छन् । सायद राम्रो पढाइ गरेर सरकारी कर्मचारी हुन्थे होला । केही नभए पनि राम्रो खान लाउन सक्ने अवस्थामा त हुन्थे होला । खैर छोडौँ म पनि…।
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ । तर यो परम्परा थियो भन्ने कमैलाई थाहा होला । म पनि यो परम्पराप्रति अनभिज्ञ नै हुँ । ३/४ वर्ष अगाडि मात्रै मैले यो परम्पराको बारेमा थाहा पाएकी हुँ । किनभने मैले कहिल्यै बुबाको मुख हेर्ने दिवस मनाएको छैन र मेरो समुदायमा पनि मनाउँदैनन् । अहिले पनि कसैले यो दिवस मनाउँदैनन् । बस यति थाहा छ बुबाको मुख हेर्ने दिनलाई सामाजिक सञ्जालमार्फत मात्रै मनाइन्छ ।
मेरो कुराले कसैको चित्त दुःख्न सक्छ त्यसको लागि माफि चाहान्छु । धमाधम सामाजिक सञ्जालमा बुवाको तस्बिर राखेर शुभकामना दिने तपाईले के बुबालाई एक फोन गरेर सोध्नुभयो ? बुबा तपाई कस्तो हुनुहुन्छ भनेर ? अँह विल्कुलै नहोला । बुबाआज त हजुरको मुख हेर्ने दिन भनेर स्वतन्त्र भइ हृदयबाटै तपाईले खुसीका साथ भन्नुभयो बुबा आज तपाईको मुख हेर्ने दिन हो शुभकामना भनेर ?
आमाबुबासँग झै–झगडा गरी वर्षौँदेखि अलग्गिएर बसेका बुबासँग बोलचालै बन्द गरेका दाजुभाइले बुबाको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट्याएकोबाट स्पष्ट हुन्छ कि यो खालि एक नाटक हो भनेर ।
जब सानो हुँदा बुवाले बुइ लगाउँदा, काँधमा चढाउँदा बुबाकै शरीर हाम्रा लागि शौचालय थियो । यी यस्ता कुराको ऋण तिर्न त सकिन्न यो त सबैलाई थाहा भएकै कुरा हो । यो सब छोडिदिउँ । हामीलाई हुर्काउन, बढाउन, पढाउन तथा हामी आफ्नो खुट्टमा नउभिञ्जेलसम्म बुबाले गरेको परिश्रम उहाँले बगाएको पसिनाबारे हामीले कहिल्यै सोच्दैनौँ, कल्पना पनि गर्दैनौँ कि कति मेहनत लाग्दो हो ।
बुबाले गरेको यो परिश्रम र पसिनामा हामीले रजाइँ गर्छौँ । फुर्ति लगाउँछौँ । तर यो फुर्ति कुन खम्बाले टिकाइराछ भन्ने कुराको हामीलाई ख्यालै हुन्न । तपाईलाई थाहा छ जब कुनै अनजान व्यक्तिले ए! तपाई फलानोको छोरा पो! ती व्यक्ति यो काम तथा यी कुरामा असल थिए अर्थात छन् । तब बल्ल हामीलाई थाहा हुन्छ ए! बुबा त यो काम गर्दा रहेछन् । म पनि बुवाले गर्ने कार्यबारे अनभिज्ञ थिए नि । तर मलाई उहाँले समाजप्रति गरेको असल काम र असल व्यवहारले चिनायो ।
बुबामा र हामीमा कति फरक छ । हामी झुत्रे भएको बुबाले हेर्न सक्नुहुन्न, भावनात्मक रुपमा बुवाले राम्रो खाएको लाएको हामी हेर्न सक्दैनौँ । त्यहाँ हाम्रो प्रश्न खडा भइहाल्छ । हामीले मन पराएको कुरा ल्याउन बुबालाई सेकेण्ड लाग्दैन होला तर हामीले बुबालाई मन परेको कुरा ल्याउन वषौँ लाग्न सक्छ ।
आफ्नो खुट्टामा उभिएर खाइरहेका हामीले एकपल्ट पनि आफ्नो तर्फबाट खुसीका साथ बुवा के चाहिन्छ ? भनेर नसोध्या हौँला । हामीले बुबालाई भन्न नसकेका कुरा बुवाले आफैँले बुझेर पुर्ति गरिदिनुहुन्छ । तर हामीले देखि रहन्छौँ बुबाले झुत्रो लाएको र पनि हामी राम्रो ल्याइदियौँ भन्ने हिम्मत पनि राख्दैनौँ ।
मानौँ बुवा बिरामी भएर छटपटिनुहुन्छ र पनि म ठिक छुँ भन्नुहुन्छ । हाम्रो मनले बुबालाई केही नहोस् भन्ने त प्रार्थना गरिरहन्छ तर बुबाले उपचार गर भनेर नभनि दिए राम्रो हुन्थ्यो भन्ने पनि मनमा खेलिरहन्छ ।
बुबा अन्जानमा पनि हाम्रो आवश्यक्ता पुर्ति गर्नुहुन्छ तर हामी जानाजान पनि बुबाका आवश्यक्ता पुर्ति गर्न सक्दैनौँ । हामीले चाहे जस्तोसुकै काम गर्न बुबा पछि हट्नुहुन्न । तर हामी कहिल्यै बुबाले चाहेको काम गर्न सक्दैनौँ ।
लेख्दा–लेख्दा कागज सकिएला, कलमको मसि सकिएला तर शब्दहरु कहिल्यै सकिन्नन् होला । मेरा यी यस्ता कुराले कसैको चित्त दुःखे म माफि चाहान्छु तर वास्तविक कुराहरु यीनै हुन् । साँच्चिकै मलाई हृदयबाटै प्रफुल्लित भएर गर्वका साथ बुबाको मुख हेर्ने हैसियत छैन । के बुबाको मुख हेर्ने हैसियत तपाइको छ ?