काठमाडौं: तीजको दर खाने कार्यक्रममा मदिरा(दारु) पिएपछि डडेल्धुराको भागेश्वर गाउँपालिकामा बबाल मच्चिएको छ। हिजो(बुधबार) साँझबाट वडा नम्बर ३ को कार्यालयमा आयोजना भएको तीजको दर खाने कार्यक्रम अन्तिममा भनाभनमा टुंगिएको थियो।
मदिरा पिएर लफडा नै भएपछि जिल्लाबाट प्रहरी टोली गएर वडा सचिव कृष्ण चठौतसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी स्रोत बताउँछ। उनीसहित स्वास्थ्य शाखा प्रमुख, २ जना भेटेनरी कर्मचारी र एक जना सवारी चालकलाई जिल्ला झिकाइएको थियो। उनीहरुलाई मापसे जाँच गरेपछि थुनामा राखिएको स्रोतले बतायो।
तर, प्रहरी भने ४ जनालाई नियन्त्रणमा लिएको बताउँछ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले पनि ४ जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे। उनले निषेधित क्षेत्रमा मदिरा पिएर सामान्य विवाद भएपछि आज(बिहिवार) बिहान ६ बजे प्रहरी टोली गएर उनीहरुलाई नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिइएका सबैजनालाई २४ घण्टासम्म थुनामा राख्ने उनले बताए।