धनगढीः कैलालीको धनगढीबाट २६ लाख बढी मुल्य बराबरका तस्करीको सामान प्रहरीले बरामद गरेको छ।
बिहीवार अवैध सामानसहित प्रहरीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवाललाई पक्राउ गरेको हो। भारतबाट आयात गरिएको सो सामान ना ५ ख ४७३२ नम्बरको बसभित्र फेला परेको थियो। बसलाई धनगढी उपमहानगरपालिका–३ भन्सारबाट नियन्त्रणमा लिएको हो।
बसभित्र २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको प्रहरीले जनाएको छ। बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोबाइल पार्ट्स, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका भन्सार छलीका सामान रहेको बताइएको छ। नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट मोटरसाइकलमा गएको गस्ती टोलीले बस, अवैध सामान र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।