धनगढी: सुदूरपश्चिममै ख्याति प्राप्त संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तले अस्तिमात्रै अन्न त्यागे। जनैपूणिर्माको दिन थियो, त्यहीँ दिन १ सय २ वर्षीय पण्डित पन्तले अन्न त्यागेका हुन्।
सनातन धर्म र संस्कृती, संस्कार र पूर्वीय दर्शनका ज्ञाता पन्तले सो दिन अन्नमात्रै त्यागेकोमा त्यसपछि जलसमेत त्यागेका थिए। पन्तले आजसम्म अन्नदेखि जलसम्म केही ग्रहण नगरी शास्त्रीय अवसानको लागि संघर्ष गरिरहेका थिए। उनका पुत्र डिआर पन्तका अनुसार आज पन्तको सो संघर्षको घडी समाप्त भएको छ। यानिकी ज्योतिषी पन्तको निधन भएको छ।
पन्त धार्मिक र शास्त्रीय अवसानको पथमा लम्किएका हुन्। आज (शुक्रबार) पन्तको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जीवनकालभर संस्कृतीविद्, ज्योतिषी र सनातन अभियन्ता बनेर क्रियाशील पन्तले १०२ वर्षको उमेरमा आएर पनि सनातन मान्यताअनुसार देहत्यागको बाटो रोजेका हुन्।
पन्तले देहत्यागका लागि एक हप्ताबढी अन्न (खाना-पानी) छोडेका थिए। यस्तै अस्तिसम्म माला जप गरिरहेका पन्तले हिजैबाट माला जप्न पनि छाडेका थिए। डडेल्धुराको डुगरी गाउँमा जन्मिएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मा सपरिवार बस्दै आएका थिए।
तत्कालीन विस. १९९७ मा शिक्षक बनेर देशभर ज्ञानको ज्योति फैलाउन हिंडेका पन्तले देशका विभिन्न सयौं भाषा पाठशालामा अध्यापन गरेका थिए। अध्यापनमात्र होइन, पन्तले आफैंले पाठशाला स्थापनासमेत गरेका थिए। त्यसपछि विस. २०१९ सालमा सो पेशाबाट राजीनामा दिएर उनले त्यसपछि सनातन धर्मको अभियन्ता बनेर काम गरे।
उनले लामोसमय सनातन धर्मको प्रवर्द्धन तथा प्रवचनमा योगदान दिए। जीवनकालमा उनले २०० भन्दा बढी पुराण वाचन गरेको बताइन्छ। उनी संस्कृतीविद्, सनातन अभियन्ता र ज्योतिषीमात्र होइन, सुदूरपश्चिम र नेपालको लोकपरम्परा, पद्धतिका ज्ञाता एवं पूर्वीय दर्शनका व्याख्याता र प्रवचक पनि थिए।
उनले ९६ वर्षको उमेरमा अन्तिम पुराण वाचन गरेका थिए। त्यसपछि पुराण वाचन छोडेका उनी ज्योतिषीतर्फ लागेका थिए। सनातन धर्मको अभियानै चलाएका उनलाई सुदूर नेपालको लोक परम्परा र पद्धतिको ज्ञाता मानिन्छ। उनले पूर्वीय दर्शन गीता, महाभारत वेद रामायणको पनि व्याख्या गर्ने, प्रवचन गर्ने गर्दथे।
र, यो पनिः