काठमाडौंः गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएका कैदीबन्दीलाई माफी मिनाहाको सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले माफी मिनाहाको सिफारिसको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ
गृह मन्त्रालयले मन्त्रिपरिषद बाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालय यसबारेमा स्पष्ट हुन खोजेको हो।
सरकारले संविधान दिवस (असोज ३ गते)का अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदैछ। गृहले पठाएको थप सूचीमा उनीहरूलाई माफी दिनुपर्ने कारण पनि उल्लेख नगरिएको शीतल निवास स्रोतको भनाइ छ।
त्यसकारण उनीहरूलाई माफी दिनुपर्ने कारण खुलाउन शीतलनिवासले गृह मन्त्रालयलाई पत्राचार गरेको हो। राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ।
कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
मन्त्रिपरिषदको निर्णयमा भने राष्ट्रपति कार्यालयले पास गर्नुपर्छ। गृह मन्त्रालयले भने पाँच दिन अघि नै ३४ जनाको सूची पठाएको थियो।
राष्ट्रपति कार्यालय निकट स्रोतका अनुसार गृहमन्त्रालय बाट माफी मिनाहाका लागि सिफारिस भएकाहरू ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति छन्।