दार्चुला – निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार दार्चुलामा अधिकांश मृत्यु भएका मतदाताहरुको नाम मतदाता नामावली सूचीबाट हटेको छैन् ।
स्थानीय तहहरुले निर्वाचन कार्यालयबाट माग भए अनुसारको विवरण भरेर नदिदा मृत्यु भएकाहरुको सूची नहटेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचन कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहहबाट मृत्यु भएकाहरुको विवरण हटाउन सूची मागेको थियो । मृत्युदर्ता प्रमाणपत्र देखि लिएर वडा कार्यालयबाट जानकारी माग गरेपनि स्थानीय तहले सूची विवरण दिन नसक्दा मतदाता नामावलीबाट मृत्यु भएकाहरुको नाम सच्याउन नसकिएको जोशीले बताए ।
जिल्लाको अपिहिमाल गाउँपालिकाले मात्रै पूर्ण विवरण भरेर पठाएको थियो । त्योबाहेकका स्थानीय तहहले आयोगले माग गरेअनुसार विवरण बुझाउँन नसक्दा जिल्लाबाट ६०२ जनाको मात्रै मतदाता सूचीबाट नाम हटेको जोशीले बताउनुभयो । व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाले कुनै पनि वडाको मृत्युभएका विवरण पठाउँदै पठाएन् ।
शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका लगायतका केही वडाको मात्रै विवरण पठायो । वडाबाटै विवरण पठाउन नसक्दा मृत्युभएका व्यक्तिको विवरण मतदाता सूचीबाट हट्न नसकेको जोशी स्वीकार गर्नुहुन्छ ।
निर्वाचन कार्यालय दार्चुलाका अनुसार अहिले दार्चुलामा कुल ८८ हजार २८५ जना मतदाता रहेका छन् । जुन ०७४ सालको स्थानीय तहको निर्वाचनको भन्दा १४ हजार ३७९ जना बढि हो । स्थानीय तह निर्वाचन २०७४ सालमा जिल्लामा ७३ हजार ९०६ जना मतदाता रहेको थियो ।