काठमाडौं – सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ ।
आइतबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले तालमेलका प्रयासबारे समीक्षा गर्दै गठबन्धनले जित्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
गठबन्धनकै दल जित्ने पक्का भएको ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने र गठबन्धनका दलबीच तालमेल नभर्इ जित्न नसक्ने ठाउँमा तालमेलमै जोड दिनुपर्छ भन्ने छलफल भएको बैठकमा सहभागि एक नेताले बताए । चुनावी परिणाम प्रतिकुल आउने गरी मातहतका संयन्त्रले निर्णय लिए केन्द्रले सोच्न सक्ने अवस्थाबारे पनि छलफल भएको थियो ।
काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी विहानको बैठक टुंगिएको छ ।आज दिउँसो गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दै छ । त्यसमा थप छलफल गरिने बताइएको छ ।