डडेल्धुराः डडेल्धुराको तुफानडाँडा–टुडिखेल सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ। तुफानडाँडाबाट जिल्ला प्रशासन हुदै टुडिखेल तर्फको सडकमा सवारी चालकहरुले तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको हो।
यहीँ सडक खण्डमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत प्राधिकरण, राष्ट्रिय परिक्षा बोर्डलगाएतका सेवाग्राहीको चाप हुने कार्यालयहरू रहेका छन्।
विद्यालयहरू समेत रहेकाले यो सडक खण्डमा विद्यार्थीहरूको समेत विद्यालय खुल्ने र बन्द हुने समयमा चाप बढ्छ। तर, अत्यधिक गतिमा मोटर साइकल र अन्य सवारी हुइकिँदा विद्यार्थी दुर्घटनाको जोखिमा रहेको महेन्द्र मावि खलंगाका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताए।
उनले विद्यालय क्षेत्रमा सीमित गतिमा सवारी चलाउनु पर्ने भए पनि त्यसो नपाइएकाले विद्यालय क्षेत्र रहेकोे सडकमा सवारी चालकहरूका लागि ‘गति सीमित’ का लागि साईन बोर्ड राख्नु आवस्यक रहेको बताए।
विद्यालय आउँदा जादा विद्यार्थीले जोखिम मोले आवतजावत गर्नु परिरहेको छ। सरोकारवाला निकायले बेवास्ता गर्दा र तीब्र गतीमा गाडी चलाउने प्रवृतीका कारण दुर्घटनाको जोखिम रहेको स्थानीय कृष्ण जोशीले बताए।
सडक निर्माण गर्दा नै निर्माण कम्पनी र अमरगढी नगरपालिकालाई मानिसको आवत–जावत बढी हुने भएकोले ठाँउ–ठाँउमा ब्रेकर राखिदिन आग्रह गर्दा समेत वास्ता नगरेको स्थानीयको आरोप छ।