धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले पदभार ग्रहण गरेका छन्। आज (मंगलबार) डा. कमरले अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) को जिम्मेवारी लिदै पदभार सम्हालेका हुन्।
पदभार ग्रहण गर्दै कमरले आफ्नो कार्यकालमा आफूले अस्पतालको डेलिभरी सिस्टममा पर्याप्त सुधार गर्ने बताए। उनले अहिले पनि सेती अस्पतालमा थुप्रै राम्रा कामहरु सुरुवातको चरणमा रहेको र आफूले थप नयाँ योजनाहरु बनाएको बताए।
उनले भने, ‘अब हामीले लगत्तै वेबसाईट बनाउने तयारीदेखि लिएर इमेर्जेन्सी र वार्डहरुको कर्मचारी अभावको समस्यालाई समाधान गर्नेछौं। यस्तै ओपिडीको भीड व्यवस्थापन, अपरेसनको लागि बिरामीले भोग्ने सास्तीलाई हटाउने छौं।’
यस्तै अर्को सन्दर्भमा उनले आफू धनगढी अर्थात सुदूरपश्चिमबाहिरको मान्छे भएकाले काम गर्न असहज हुन्छ कि ? भन्ने सेवाग्राहीको मनसायलाई जोड्दै त्यस्तो नहुने दाबी गरे। उनले आफू यहाँको लोकल मान्छे नभएर अस्पताल व्यवस्थापनमा कुनै समस्या नआउने जिकिर गरे।
उनले थपे, ‘म बाहिरको हुँदा कुनै समस्या हुँदैन। म एक्लैले भन्दा पनि अस्पतालका सबै विभाग र व्यवस्थापन समितिलगायतले मिलेर काम गर्ने हो। म यसअघि महेन्द्रनगरको महाकाली अस्पतालमा बस्दा पनि कहिल्यै समस्या भएन। अहिले पनि मलाई बाहिरको मान्छे भएको महसुस भएकै छैन।’
त्यस्तै उनले आफू मेसु भएपनी आफैंले पनि भ्याएसम्म बिरामी हेर्ने र वार्ड राउन्डमा जाने घोषणा गरे। अहिलेसम्मका मेसुले भने बिरामी प्रायः हेर्दैनथे।
चिकित्सक र अध्यक्षको शुभकामना
यस्तै नवनियुक्त मेसु कमरलाई अस्पतालका चिकित्सकहरुले बधाई तथा शुभकामना दिएका छन्। अस्पतालका डा. खगेन्द्रराज भट्टले कमरको कार्यकालमा अस्पतालको समस्या र अवस्था सुध्रिने अपेक्षा रहेको बताए। त्यसका लागि आफूहरुले सामूहिक कार्य गर्नुपर्ने जनाए।
त्यस्तै अस्पतालका अध्यक्ष नरबहादुर शाहले पनि मेसुलाई बधाइ दिदै मिलेर काम गर्ने प्रतिबद्धता जनाए। उनले आफूले अहिलेसम्म कुनै पनि मेसुले बिरामी नहेरेको पाएको तर अहिलेका मेसुले बिरामी हेर्ने घोषणा गरेकोमा खुसी व्यक्त गरे।
को हुन् नवनियुक्त मेसु डा. कमर ?
गोरखामा जन्मिएका नवनियुक्त मेसु डा. कमर २०६३ सालमा मेडिकल अधिकृतका रुपमा सरकारी सेवा सुरु गरेका हुन्। त्यसपछि उनले २ वर्ष दोलखाको जिरी अस्पतालमा सेवा दिएका थिए। त्यसपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा छात्रवृत्ति पाएर इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेका थिए। एमडी सकेपछि ६ महिना महाकाली अस्पतालमा काम गरे।
त्यसपछि डा. कमर सेती प्रादेशिक अस्पतालमा सेवा दिन थालेका हुन्। उनले सेतीमा इन्टरनल मेडिसिन विभाग प्रमुखलगायतको जिम्मेवारी रहेर काम गरिसकेका छन्। स्थानीय सरकारी स्कुलबाटै एसएलसी गरेका डा. कमरले महाराजगन्ज क्याम्पसबाट एचए उत्तीर्ण गरेका हुन्। उनले वि.सं. २०६१ सालमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाट एमबीबीएस गरेका हुन्।