कैलालीः संविधान दिवसको अवसरमा टीकापुर घटनाको मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी रिहा भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना कैदमुक्त भएका हुन्।
रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए।
उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए। यसैबीच, टीकापुर घटनाको मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी रिहा भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र पार्टीका संरक्षक रेशम चौधरीले कैलाली कारागार पुगि उनीहरुलाई स्वागत समेत गरेका थिए।