दार्चुला – दार्चुलाको सबैभन्दा विकट रहेको अपिहिमाल गाउँपालिकामा पुन पनि एमाले र माओवादी उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ । ०७४ सालकै प्रतिस्पर्धी नेकपा एमालेका धर्मानन्द मन्याल र नेकपा माओवादी केन्द्रका भगतसिह ठेकरे बोहरा बीच प्रतिस्पर्धा हुने भएको हो ।
०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काग्रेस छुट्टाछुट्टै उम्मेदवार बनेर भिडेका थिए । त्यो बेला एमालेका नेता धर्मानन्द मन्याल १ हजार २४९ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको प्रतिस्पर्धीमा माओवादी केन्द्रका नेता भगतसिह ठेकरे बोहरा ९८८ मत ल्याएर द्धितीय स्थानमा थिए भने काग्रेसका नेता लोकेन्द्र लोथ्याल ९२२ मत ल्याएर तेस्रो थिए ।अहिले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा दोस्रो र तेस्रो दल मिलेका छन् । गठबन्धन कायम रह्यो भने यो पटक एमालेको लागि अपिहिमालमा चुनाव जित्न निकै कठिन छ ।
अपिहिमालमा माओवादीले पालिका अध्यक्ष र उपाध्यक्ष नेपाली काग्रेसले पाउने सैद्धान्तिम सहमति बनेको छ । ६ वडा वडा रहेको अपिहिमालमा ३-३ वटा वडा बाड्ने जनाइएको छ ।
यसअघि अपिहिमालको वडा नम्बर २, ३, ६ नेकपा एमालेले जितेको थियो । वडा नम्बर १ र ५ नेपाली काग्रेस र वडा नम्बर ४ नेकपा माओवादी केन्द्रले जितेको थियो । पछिल्लो समय वडा नम्बर ५ मा कांग्रेसबाट जितेका वडाअध्यक्ष नेकपा एमाले प्रवेश गर्नुभएको छ ।