बाजुराः बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन्। बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो।
नगरपालिका प्रमुख कर्णबहादुर थापाले सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय अछामले यो वर्ष बुढीगङ्गा नदीमा दुई वटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिए। बुढीगङ्गा वडा नम्बर १ र त्रिवेणी नगरपालिका वडा नम्बर ९ को बिचमा रहेको रिन्टे खोला र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा पक्की पुल निर्माण हुँदै छ।
बुढीगङ्गा वडा नम्बर २ र त्रिवेणी वडा नम्बर ९ को बिचमा पर्ने रिन्टे खोला ८० मिटर पुल निर्माणका लागि १० करोड रुपैयाँ र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी नगरपालिका वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा ११० मिटर लम्बाइ पुल निर्माणका लागि १६ करोड रुपैयाँ विनियोजन भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताए।
त्यसैगरी त्रिवेणी वडा नम्बर ८ र ४ को बिचमा रहेको मालागाड खोलामा पनि ७५ मिटर लम्बाइको पक्की पुल बन्ने भएको छ । नौ करोड रुपियाँ लागतमा बन्ने सो पुलको काम सुरु भइसकेको पूर्वाधार विकास कार्यालय प्रमुख रुद्र बोगटीले बताए।